शनिबार , अषोज ९, २०७८

अनुभूति : जीवनभित्रको जीवन

असार १७, २०७८ बिहिबार 161

निर्दोष नेपाल : अन्ततः मैले सम्झिएँ कौमार्यमा फुल्दै गरेको एउटा फूलभित्र पानी, मल, जल, सिँचित गरी त्यसलाई फलाउनु र फुलाउनु नै जीवन रहेछ ।ताते–तातेका पैतलासँगै बा–बा, आमाको तोते बोलीले म पनि मानव हुँ

भन्ने आभाष मलाई त्यति नै बेला दिलाए होला । तर, त्यो मेरो मानसपटलमा अहिले ताजा भने छैन । सायद मैले त्यति नै बेला आफ्नो जीवन सुरु गरेँ । तर, मेरी आमालाई लागे होला, मलाई ९ महिना गर्भमा राख्दा नै मेरो जीवनको सुरुवाती पल त्यही थियो

होला भनेर ।सबैले आ–आफ्नै तर्क देलान्, विश्लेषण गर्लान् जीवन त क्षणिक रंगमञ्चको अभिनय हो । जीवन त एउटा स्वप्न हो, जो ब्युँझिँदा समाप्त हुन्छ । जीवन त कर्कलाको पातको पानी हो, कतिबेला भुँईमा त्वाप्प खस्छ थाहै हुँदैन ।

तर, त्यही पातमा रहँदा हामी हाम्रो सबथोक त्यसैलाई ठान्छौं । ढल्किँदै–ढल्किँदै अन्य पानीका बुँदहरुलाई पनि आँफैंमा विलीन गराउन चाहन्छौं बैभवशाली, शक्तिशाली बन्न चाहन्छौं ।

एउटा सत्यको विगुल हर घडी बजिरहन्छ त्यही जीवनमा तर हामी सुने पनि नसुने झैं गर्छौं । मृ’त्यु नै जीवनको स्वास्वतः सत्य भन्ने कुरा जान्दाजान्दै पनि अञ्जान कसरी बन्छौं हामी ।

मस्तिष्कभित्रको मस्तिष्क अवचेतन भएर कहिलै कसैले यो विषयमा मलाई यही कुराले सधंै पिरोली रह्यो । साँच्चिकै जीवन के हो त ?कि म जीवनभित्र भर्खरै–भर्खरै पस्न खोज्जै छु, छुन खोज्दैछु, चिन्न खोज्दैछु, बुझ्न खोज्दैछु या मेरो हृदयले के जीवनलाई महशुस नै गरेको छैन ?

यदि छैन भने जीवनको अर्थ के गरी बुझुँला म र बुझाउँला मेरा सन्ततिलाई ।जीवनको धरातलभित्र जीवन खोजेर हेर्दा नाम, पैसाले लत्पतिएका मान्छेमात्रै ठम्यायो मेरो यो दृष्टिले । जीवनको अर्थ भन्नु त जीवनभित्रको जीवन पो रहेछ ।

मृ’त्युलाई चटक्कै भुलेर मलाई रमाउनु छैन यो क्षणिक संसारमा मलाई थुपार्नु छैन काम, क्रोध, लोभ, मोह, अहंकारभित्रको सांसारिक सुखभोग ।चाहे विज्ञानले मोहम्मद पैगम्बरलाई सच्चा जीवन मानोस् या भगवान कृष्णलाई । या किन नदिओस् भगमानकै

उपमा बुद्धलाई तर कल्कि अवतारको डर हर अनुहारभित्र झल्किन्छ । गरुड पुराणको बैतरणनीको कथा त सुने पनि नसुने झैं गर्लाउ तिमी । तर, तिम्रा अगाडि समयले नेटो काटेर अस्ताएका आफन्तीहरुको श्राद्धमा पिण्ड बगाउँदै गरेको देखेर कतै च्वास्स लागेन जीवनको समाप्ति यही हो भनेर ?

म बसिरहेको घर मैले मेरो भन्दिनँ र भनिनँ पनि, कुनैबेला यही घरमा मेरा हजुरबुवा बस्नुहुन्थ्यो । उहाँ जीवितै छँदा उहाँले यस घरलाई आफ्नो ठान्नुभयो । यो ठान्नुभएन कि यो मेरो होइन, यहाँ मेरो केही छैन, नाङ्गो सत्यता बोकेर आएको म नाङ्गै जाने हो भनेर ।

मेरा बाले पनि मेरै हजुरबालाई नै पछ्याउनुभयो । पूरा जिन्दगी मृ’त्यु बोकेर बाँच्नुभयो, यो सब थोक मेरै हो भनेर । अहिले त्यो घरमा न मेरा बा हुनुहुन्छ न त हजुरबा । न त भोली म नै रहनेछु । यहाँ के रहेछ त मेरो ? म आफै बसिरहेको घर त मेरो रहेनछ ।

जीवनभरिको मेहनत, पसिना दुःख गरी कमाएको एक–एक पैसा जोडेर ठम्याएको कठै सुनौलो जीवको आश बोकेर लस्करै परदेशिएकाहरु तातो बालुवा पसिनाले सिँचित गर्दै जवानी खाडीमा बेचेर सुन्दर घर,

सुन्दर संसार र सरल जीवनको सपना बोकेर मातृभुमि छोडी परदेशिएकाहरु मेरो मानस्पटलमा जहिले ताजा भइरहन्छन् ।तीन–चार वर्षको उमेर हुँदै पढाइ केही समयपछि जागिर फेरि केही अन्तरालमा घर गृहस्थी अनि बुढेसकालका

लागि थोरै पैसा सञ्चय हैन भने त आजकाल आफ्ना सन्तानहरुले आश्रमसम्म पनि छोड्दैनन् ।के यही परिधि नै जीवन हो त ? कहिलेकाँही आफंैलाई प्रश्न सोध्न मन लाग्छ । सोच्छु, अरुभित्र आफू बाँचेर आफूभित्र अरुलाई बचाएर बाँचौं ।

तर, फेरि लाग्छ, के भीरको सुनाखरी, डाँडाको धुपि र बनको ऐंसेलु जीवन किन हुन सक्दैन मेरो ?अर्थभित्र अर्नथ भेटेपछि मैले अर्थलाई अनर्थ नै छोडेको हुँ । यहाँ सबैलाई सुःख चाहिएको छ, खुसी चाहिएको छ । भौतिक सुःख सुविधा चाएिको छ,

चाहे जीवनको अर्थ लागोस् या अनर्थ । सायद समाज पनि यही भएर रुपान्तरण भएको होला । मान्छेको हैसियत र ओहोदालाई नमस्कार र सम्मान गर्ने प्रचलनमा गाँजिदै गएको ।

त्यसैले अब मलाई हामी हुनु छैन । मलाई अरु कसैको पनि हुनु छैन । मलाई मेरो भएर अर्थभित्रको जीवन बाँच्नु छ । अब त आफ्नो प्रत्येक दिनलाई जीवनकै अन्तिम दिन सम्झेर जिउनु छ । काम क्रोध, लोभ, मोह, माया भन्दा पर र पुग्नु छ । जीवनभित्रको जीवनमा ।

प्रतिकृया दिनुहोस्