बिहिबार , माघ १३, २०७८

घर निर्माणमा थ्रिडी डिजाइनको प्रयोग, के छ फाइदा?

असार २१, २०७८ सोमबार 599

नगरपालिकामा नक्सा पास नभएका भवन मापदण्ड विपरीत मानिन्छन्। यस कारण पनि साना-ठूला घर सबै घर नक्सा पास हुनु अनिवार्य छ।

कुनै बेला ठेकदार वा मिस्त्रीले जग्गाको चार कुना नापेकै भरमा घर ठडिन्थ्यो। अहिले दक्ष इञ्जिनियर-आर्किटेक्ट खोजेर नक्सा बनाउनु र नगरपालिकाबाट पास गराउनु घरको जग राखे बराबर मानिन्छ।

पछिल्लो समय भवनको थ्रिडी डिजाइन विधि भित्रिएको छ। नगरपालिकामा पास गर्न बनाइने नक्सालाई प्रविधिका माध्यमबाट सजावट गरी बनिसकेको घरजस्तै देखाउनु थ्रिडी डिजाइनको प्रयोग हो।

यसमा इन्टेरियर थ्रिडी प्रयोग गरेर घरभित्रकै दृश्य अझै स्पष्ट हेर्न सकिन्छ। यहाँ हामीले निजी घर निर्माणमा थ्रिडी डिजाइन र इन्टेरियर थ्रिडी डिजाइनको प्रयोग र फाइदाबारे चर्चा गरेका छौं।

घर निर्माण कम्पनी ‘बिल्ड इनोभेसन’ का निर्माण विशेषज्ञ इञ्जिनियर सुवास अधिकारीले हामीलाई यसबारे जानकारी दिएका छन्। विकसित देशहरूमा यस्ता प्रविधि धेरै पहिलेदेखि प्रयोग गरिँदै आए

पनि नेपालका लागि यो नौलो हो। होटल, रेस्टुरेन्ट, अपार्टमेन्ट, हस्पिटल, पार्क निर्माणमा सीमित थ्रिडी डिजाइन निजी घर निर्माणमा पनि विस्तारै अभ्यास हुँदैछ। अधिकारीका अनुसार सचेत घर

निर्माणकर्तालाई निर्माण प्रक्रिया र विधिबारे धेरैजसो जानकारी पहिल्यै हुन्छ। आफूले बनाउन चाहेको घरको मोडल पनि तयार पारेर डिजाइन कम्पनीमा आउँछन्। तर निर्माणबारे जानकारी नहुने,

आवश्यकताका आधारमा मात्रै घर बनाउनुपर्नेलाई थ्रिडी प्रविधि अझै महत्वपूर्ण हुन्छ। ‘थोरै आइडिया हुनेले आफैं डिजाइनबारे बताउँछन्। त्यसमा जग्गाअनुसार कुन मोडल मिल्छ र कसरी बनाउन सकिन्छ

भन्ने सहजीकरण डिजाइनरले गरिदिन्छन्,’ उनले भने, ‘तर निर्माणबारे कत्ति पनि जानकारी नहुनेलाई कस्तो घर कसरी बनाउने थाहा हुँदैन। थ्रिडीमा देखाउन सकियो भने प्रभावकारी हुन्छ।’

आम्दानीको नियमित श्रोत हुनेलाई घर बनाउँदा बजेटमा तलमाथि परे खास फरक नपर्ला। तर नियमित आम्दानी र स्रोत नभइ, जग्गा बेचेको पैसा, वैदेशिक आम्दानी वा लामो समयदेखि जम्मा गरिएको

रकमबाट घर बनाउन खोज्नेका लागि सोहीअनुसार बजेटिङ गर्नुपर्ने हुन्छ। ‘सीमित बजेट हुनेका लागि थ्रिडी डिजाइन अझै आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘यसले घरमा लाग्ने लागत अनुमान सजिलै

गर्न सकिन्छ र बजेट नबढाइ योजना अघि बढ्छ।’ एक पटक थ्रिडी डिजाइन गरिसकेपछि जो कोहीले आफूले बनाउन लागेको घर दुरूस्तै हेर्न पाउँछ। थ्रिडी इन्टेरियर डिजाइनबाट घरभित्रको भान्सा,

बैठक, सुत्ने कोठा, बाथरूम लगायतको व्यवस्थापन र सजावट हेर्न सकिन्छ। त्यस्तै सबै कोठा, बरन्डामा घामको किरण पर्ने वा नपर्ने निधो गर्न सकिन्छ। झ्याल-ढोका, कोठा वा किचनको आकार

पहिल्यै स्पष्ट हुनाले पछि अनावश्यक ठूलो वा सानो भयो भनेर पछुताउनु नपर्ने अधिकारी बताउँछन्।’इन्टेरियर थ्रिडी डिजाइन गर्दा घर बनिसकेपछि खाट कता फर्काएर राख्ने, दराज कता राख्ने,

कुन आकारको राख्ने वा भान्सा कस्तो बनाउने लगायत सोच्नुपर्ने झन्झट पर्दैन,’ उनले भने, ‘कस्तो रङ लगाउने, कस्तो फर्निचर राख्ने, बत्ती कता राख्ने भन्ने जस्ता अलमलको स्थिति पनि आउँदैन।’

मुख्य कुरा थ्रिडी दृश्य हेरिसकेपछि आफूलाई चाहिएको घर यस्तै हो वा होइन ढुक्क हुन र परिवारलाई देखाएर सन्तुष्ट हुन सकिन्छ। मन नपरेको कुरा पहिल्यै सुधारेर चाहेजस्तो बनाउन पनि पाइयो।

विदेशतिर डिजाइनको पाटोमै थ्रिडी र इन्टेरियर थ्रिडी डिजान समेटिने अधिकारी बताउँछन्। नेपालमा भने यो भर्खरै भित्रिएकाले निजी घर निर्माणमा बल्ल अभ्यास सुरू हुँदैछ। केही वर्षभित्रै डिजाइन

प्याकेजमा यी सबै काम अटाउनेमा उनी आशावादी छन्। कति लाग्छ खर्च? अधिकारीका अनुसार सामान्य साढे दुई तले घर बनाउँदा डिजाइनमा मात्रै ७०–८० हजारदेखि डेढ लाखसम्म लाग्छ। त्यसको थ्रिडी

डिजाइन विकास गर्नु छुट्टै कला हो। त्यसमा इन्टेरियर थ्रिडीसमेत गर्दा ६०–७० हजार थप लाग्छ। अझै पनि घर निर्माण प्रक्रिया नक्सांकन र डिजाइनबाट सुरू नभइ जग खन्नबाट थाल्ने चलन छ। तर वास्तवमा

घरको राम्रो डिजाइन बन्नु भनेको आधा घर बनिसक्नु बराबर हो। सुरूमा केही खर्चिलो देखिए पनि भविष्यमा मर्मत-सम्भार गर्दा यही डिजाइन सहयोगी हुने अधिकारी बताउँछन्। घर भनेको घाम-पानी छेक्ने

छानो मात्र होइन, आरामदायी र सुविधाजनक पनि हुनुपर्छ। उनका अनुसार आरामदायी घरको अवधारणालाई थ्रिडी डिजाइनले पूर्ण सहयोग गरेको छ। ‘आममान्छेले घरको नक्सा–रेखा मात्रै हेरेर सचित्र

दृश्य महशुस गर्न सक्दैनन्। यस कारण पनि जीवनकालमा एकपटक बनाउने घरमा थ्रिडी प्रयोग गरेर हेर्नुहोस् र चित्त बुझ्दो घर बनाउनुहोस्। सकिन्छ भने इन्टेरियर थ्रिडी प्रयोग गर्नुहोस्,’ उनी सुझाव दिन्छन्।

यो पनि पढ्नुहोस्ः घरको नक्सा-डिजाइन बनाउनुअघि के-केमा ध्यान दिनुपर्छ? घर मुख्यगरी परम्परागत र आधुनिक शैलीमा निर्माण गरिन्छ। आरसिसी, प्रिफ्याब, स्टिल स्ट्रक्चर लगायत आधुनिक शैलीका घर

हुन्। ढुंगामाटो, काठ प्रयोग गरी मौलिक शैलीमा बनाइने परम्परागत घर हुन्। यहाँ हामीले घरको नक्सा र डिजाइनको महत्व र यसमा लाग्ने खर्चबारे चर्चा गरेका छौं। यसबारे हामीलाई मेथड कन्सल्टेन्सी,

सूर्यविनायकका निर्देशक तुलसीलाल बासुकलाले जानकारी दिएका छन्। उनका अनुसार कुनै पनि घरको नक्सा नगरपालिकाले सहजै पास गरिदिने खालको होइन, घरधनीको मनमा पास हुने खालको हुनुपर्छ।

बासुकला भन्छन्, ‘नगरपालिकामा सजिलै पास गर्न नक्सा र घर बनाउने होइन। नक्साकै आधारमा सम्पूर्ण घर बन्ने हुनाले सम्झौता गर्नु हुँदैन। कहिलेकाहीँ भवन बन्न लाग्ने समयभन्दा धेरै समय डिजाइनमा दिनुपर्ने

हुनसक्छ।’ घरको नक्सा बनाउनुभन्दा पहिले डिजाइन कम्पनीले जग्गा हेर्छन्। त्यसपछि कम्पनी र घरधनीबीच परिवारका सदस्य संख्या, आवश्यकता, आम्दानी स्रोत लगायतबारे छलफल गरिन्छ। बासुकलाका अनुसार

घरधनीको इच्छा र आम्दानीको तालमेल मिलाउनु महत्वपूर्ण हुन्छ। दुवै पक्षको छलफल र घर निर्माणको शैली निधो गरेपछि कम्पनीले डिजाइनको काम सुरू गर्छ। ‘यो प्रक्रियामा घरधनी चनाखो नभए कम्पनीहरूले

पुरानो कुनै डिजाइन देखाएर बदमासी पनि गर्न सक्छन्। यो कुरा ख्याल गर्नुपर्छ,’ उनले भने। एकपटक डिजाइन गरिसकेपछि घरधनीलाई देखाइन्छ। डिजाइन मन नपरे वा हेरफेर गर्नुपर्ने भए डिजाइनरसँग

बसेर छलफल गर्नुपर्छ। बासुकलाका अनुसार डिजाइन निधो हुनुअघि नै आवश्यक छलफल गर्नुपर्छ। एकपटक निश्चित गरेपछि सकेसम्म हेरफेर गर्नु हुँदैन। नक्सा र डिजाइन राम्रो नभई घर राम्रो बनाउन नसकिने

बताउँदै उनी भन्छन्, ‘कस्तो निर्माण सामग्री प्रयोग गर्ने, त्यसको खर्च कति आउँछ, बजेटमा के के समेट्न सकिन्छ, लागत घटाउन के गर्न सकिन्छ? यी सबै कुरा पहिले नै थाहा पाउन राम्रो डिजाइन गरिनुपर्छ।’

धेरैजसोलाई घर बनाउनुअघि कसलाई भेट्ने, कोसँग परामर्श गर्ने थाहा हुँदैन। धेरैजसो त भर्खरै निर्माण सम्पन्न गरेका आफन्त वा छिमेकीकहाँ पुग्छन्। छिमेकले सही सल्लाह दिए त ठिकै भयो, नत्र दुवैको

उस्तै घर बन्ने पक्का छ। घर बनाउने समग्र प्रक्रिया शरीरमा कुनै रोग लाग्नु र त्यसको निदान गरेजस्तै भएको बासुकला बताउँछन्। जसरी अर्को व्यक्तिलाई लागेको लक्षण र रोगसँग तुलना गरेर आफू हचुवा औषधि

खानु हुँदैन, त्यसरी नै अर्काको सल्लाहको भर परेर घर डिजाइन गर्नुहुँदैन। ‘आर्किटेक्ट र सिभिल इञ्जिनियरको सुविधा एउटै ठाउँमा पाइने कन्सल्टेन्सी रोज्नुपर्छ। यी दुवै पक्षले नक्सा र डिजाइनमा काम गर्दा

घरको अनुमानित लागत निस्किन्छ,’ उनले भने, ‘सकेसम्म इन्टेरियर थ्रिडी डिजाइन गर्दा राम्रो हुन्छ।’ निर्माण कम्पनीहरूका अनुसार ग्राहकले बनाउन चाहेको घरको किसिममा यसको लागत निर्धारण हुन्छ।

सामान्य परिवारका लागि चार–पाँच आनामा बनाइने घरको डिजाइन बढीमा दुई लाख रूपैयाँसम्ममा सकिने बासुकलाले जानकारी दिए। कम्पनीहरूले इन्टेरियर–एक्सटेरियर डिजाइनसहितको थ्रिडी निर्माणमा

थप प्रतिवर्गफुट सय रूपैयाँसम्म शुल्क लिने गरेका छन्। यस हिसाबले चार आना जग्गामा बन्ने साढे दुई तले घरका लागि करिब तीन लाख रूपैयाँ डिजाइनमा छुट्याउनुपर्ने उनी बताउँछन्। नक्सा वा डिजाइन राम्रो

नभए के हुन्छ? नक्सा-डिजाइन राम्रो नभए भर्‍याङ, शौचालय, भित्री कोठा अँध्यारो हुने, हावा आउने दिशातिर झ्याल नहुनेजस्ता समस्या देखिने बासुकला बताउँछन्। उनका अनुसार कतिपय अवस्थामा सडकभन्दा

होचो स्थानमा घर बन्ने पनि हुनसक्छ। यसो हुन नदिन डिजाइन कम्पनीले जग्गा अवलोकन गरेको र घरधनीसँग राम्ररी परामर्श गरेको हुनुपर्छ। एकपटक नक्सा र डिजाइन फाइनल गरेपछि फेरि–फेरि

त्यसमा काम गर्नु हुँदैन। यसो गर्दा झन् धेरै अलमल हुन सक्छ। राम्रो घर बनोस् भन्ने हो भने सुरूमै सबै छलफल गरेर नक्सा-डिजाइन निधो गर्नुपर्ने बासुकला बताउँछन्।

प्रतिकृया दिनुहोस्