बिहिबार , माघ १३, २०७८

संसद विघटनकाे मुद्दा : सबै ३० रिटमाथिको बहस आज सकिँदै

असार २१, २०७८ सोमबार 233

काठमाडौं : प्रतिनिधिसभा विघटनकाे पक्ष र विपक्षमा परेका कुल ३० वटा रिटमाथिको बहस आज सकिँदैछ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएपछि रिट निवेदक पक्षका अधिवक्ताहरुले जवाफी बहस शुरू गरेका छन् ।

उनीहरुका लागि छुट्याइएको तीन घण्टाको समयमध्ये अब दुई घण्टा मात्रै बाँकी छ । यो दुई घण्टामा आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नुहुने छ ।

उहाँहरूको बहस सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी)ले आजै राय दिनेछन् । त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ । उहाँहरुको बहससँगै सबै सुनुवाइ सकिनेछ । यसपछि फैसलाको प्रतीक्षा हुनेछ ।

बहस सकिँदै गर्दा अधिकांशको ध्यान अहिले सर्वोच्च अदालततिर केन्द्रित भएको छ । संसद पुनर्स्थापना हाेला या के हाेला भन्ने सबैमा चासाे छ । फैसला कहिले दिने भन्ने अदालतले आजै जानकारी दिन सक्नेछ ।

गत असार ९ गतेदेखि उक्त मुद्दामाथि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ शुरू भएको थियो ।

३० रिट निवेदनमध्ये ४ वटामा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री कायम गरिनुपर्ने माग छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्