शनिबार , अषोज ९, २०७८

सहकारीका सदस्यको ब्याजमा छुट दिन निर्देशन

असार २२, २०७८ मंगलबार 176

बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले कोरोना महामारीबाट प्रभावित सदस्यहरुलाई ब्याजदरमा छुट दिन आग्रह गरेको छ । सदस्य संस्थाहरुका लागि मार्गदर्शन जारी गर्दै संघले कोरोनाको

दोश्रो लहरको निषेधाज्ञा सुरू भएको कारणले ऋणको ब्याज र किस्ता भुक्तान गर्न नसकेका सदस्यहरुलाई बन्दाबन्दी अवधिभरको हर्जना नलिन र आन्तरिक निर्णय गरी सदस्यलाई ब्याजमा छुट दिन आग्रह गरेको हो । यसैगरी संघले निषेधाज्ञा

खुल्नासाथ सञ्चालनमा आउन सक्ने व्यवसायीहरुलाई बढीमा २०७८ पुस मसान्तसम्म निषेधाज्ञा अवधिको किस्ता तिर्न सक्ने गरी म्याद दिने, पूर्ण प्रभाव परेका सदस्यहरुलाई भविष्यमा तिर्न सक्ने सम्भाव्यताको अध्ययन गरी सदस्यसँगको सहमतिमा

निषेधाज्ञा अवधिभरको किस्ता रकमलाई पुनः तालिकीकरण गर्न सकिने व्यवस्था गरेको छ । ऋणी सदस्यहरुमा परेको प्रभावको अवस्था हेरी निषेधाज्ञा हटेपश्चात सदस्यको व्यवसाय पुनः सञ्चालनमा आउन सक्ने अवस्था विश्लेषण गरी सदस्यको

मागको आधारमा सदस्यले उपयोग गरेको कर्जा रकमको अधिकतम १० प्रतिशतसम्म पुनर्कर्जा दिन सकिने र गत वर्ष नै पुनर्कर्जा पाइसकेको सदस्यको हकमा पुनर्कर्जालगायत बाँकी रहेको किस्ता रकम तिर्दै आएका ऋणीहरुलाई मात्र १०

प्रतिशतको सीमा नबढने गरी पुनर्कर्जा दिन सकिने संघले सुझाव दिएको छ । संघले कोरोनाको महामारीमा ऋणी सदस्यमा परेको प्रभावको कारण सावाँ वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यहरुबाट अतिरिक्त शुल्क नलिन

भनेको छ । यस्तै महामारी एवम् प्राकृतिक प्रकोपको प्रभावको अवस्थालाई हेरी हरेक संस्थाले विपद जोखिम न्यूनिकरणका लागि विपद जोखिम पहिचान र मूल्यांकन गरी जोखिम न्यूनिकरणका उपायहरु अपनाउन तथा जोखिम व्यवस्थापनका

लागि सञ्चालक समितिका पदाधिकारीबाट एकजना संयोजक र व्यवस्थापन प्रमुख सदस्य रहने गरी कम्तिमा तीन जनाको विपद जोखिम न्यूनिकरण एवम् व्यवस्थापन कार्यदल गठन गर्नसमेत सुझाव दिएको छ । यसैगरी संघले सहकारीहरुको ऋण असुली

तथा वार्षिक खाताबन्दी प्रक्रियामा सहजीकरण गर्न सहकारी विभागलाई आग्रह गरेको छ । कोरोनाका कारण उत्पन्न असहज परिस्थितिमा सहकारीको ऋण असुली तथा वार्षिक खाताबन्दी सम्बन्धमा मार्गदर्शन एवम् निर्देशन जारी गरी सहजीकरण गर्न आग्रह गर्दै विभागमा समेत सुझाव पेश गरेको हो ।

प्रतिकृया दिनुहोस्