सोमबार , माघ १०, २०७८

ओली–नेपालमाथि तेस्रो धारका नेताहरूको दबाब : तीन दिन एकताका लागि पहल गर्ने, नभए ८ भदौमा भेलामार्फन निर्णय लिने !

भाद्र ५, २०७८ शनिबार 266

काठमाडौं : अथक प्रयासका बीच पनि पार्टी विभाजन रोक्न असफल भएका एमालेका तेस्रो धारका नेताहरूले पार्टी एकताका लागि चारदिने समयसीमा तोकेर दबाब सिर्जना गरेका छन् । १० बुँदे सहमति निर्माणमा संलग्न नेतासहित नेपालको साथ छाडेका ५७ जना केन्द्रीय सदस्य र सांसदले शुक्रबार भेलामार्फत पार्टी अध्यक्ष केपी ओली र प्रस्तावित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल दुवैमाथि समयसीमा तोकेर दबाब दिएका हुन् ।

नेपालको प्रस्तावित पार्टीको हस्ताक्षर सनाखत हुने ९ भदौ अगावै १० बुँदे सहमति कार्यान्वयनका लागि प्रस्ताव गरिएको चरण र कार्यतालिका अक्षरशः लागू गर्ने गरी सुरु गर्न तथा नेपालसहित १४ सांसदमाथिको कारबाही फिर्ता गर्न उनीहरूले ओलीलाई अल्टिमेटम दिएका छन् । यस अवधिमा नयाँ पार्टी दर्ता प्रक्रिया स्थगन गर्न प्रस्तावित पार्टीका अध्यक्ष नेपाललाई उनीहरूले समयसीमा दिएका छन् ।

पार्टी विभाजनको विपक्ष र सहमति कार्यान्वयनको पक्षमा उभिँदै नेपालको साथ छाडेका केन्द्रीय नेता र सांसदहरूको भेला बसुन्धारास्थित एक पार्टी प्यालेसमा सम्पन्न भएको थियो । ‘८ भदौसम्म सहमतिको कोसिस गर्छौँ, भएन भने फेरि भेला भएर एउटा ठोस निर्णय गर्छौ“,’ केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले भने, ‘यसबीचमा ओली कमरेड र माधव कमरेडसँग पनि छलफल हुन्छ ।’

मूलतः ओलीले १० बुँदे सहमति गर्दा गरिएको सहमति कार्यान्वयन गर्ने च’रण र कार्यतालिकाको माइन्युटमा राखिएको गोप्य सहमति कार्यान्वयन गर्न उनीहरूको माग छ । यी नेताहरूले कार्यदल सदस्यसहित १० बुँदे सहमतिमा ओलीले हस्ताक्षर गर्नुपर्ने, त्यसपछि २ जेठको स्थायी कमिटी बैठक बस्नुपर्ने, त्यसपछि केन्द्रीय कमिटी बैठक बसेर माओवादीबाट आएका नेताको नाम अनुमोदन गर्नुपर्ने र आवश्यकताअनुसार कार्यदल बनाउनुपर्ने ओलीस“ग माग राखेका छन् ।

एकताको पक्षमा रहेका केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालसहितको एकताको पक्षमा रहेकाले उनीसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न र नेपाल पक्षलाई दल दर्ता प्रक्रिया स्थगन गर्न आग्रह गरिएकोसमेत जानकारी दिए । ‘हामी फेरि पनि माधव नेपालसहित समग्र एमालेको एकताको पक्षमा छौँ, त्यसकारण नेपालसहित १४ जनामाथिको कारबाही फिर्ता लिन र निर्वाचन आयोगमा सुरु भएको दल दर्ताको प्रक्रिया स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेका छौँ,’ गैरेले भने ।

बैठकले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्ने, देश, जनता र नेपालको कम्युनिस्ट आन्दोलन, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको पक्षमा अपरिहार्य भएको निष्कर्ष निकाल्दै कार्यान्वयन गरेर एकताको वातावरण बनाउन अपिल गर्ने तथा देशभरका नेता–कार्यकर्तापंक्तिलाई गाली–गलौज, अपशब्द प्रयोग नगर्न र संयमताका साथ एकताको पक्षमा खडा हुन पनि अपिल गरेको छ । बैठकमा कार्यदलका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डेलगायतलाई केन्द्रीय सदस्य र सांसदहरूले एक–दुई दिनभित्रै अध्यक्ष, वरिष्ठ नेता,

महासचिवसहितसँग दशजना कार्यदलका नेता बसेर एउटा टुंगोमा पुग्न ध्यानाकर्षण गराएका थिए । नयाँ पार्टी गठनमा नेपालको साथमा रहेका नेताहरू भने अहिलेसम्म ओलीले दशबुँदे सहमति कार्यान्वयनमा कुनै तत्परता नदेखाएकाले एकताको पक्षमा उभिने नाममा कतिपय नेतामा अन्तिम घडीमा अवसरवादी चरित्र देखिएको बुझाइमा छन् । ‘झर्‍यो भने खाउँला भन्ने आशाको सिद्धान्तबाट काम कहिले पूरा हुने हो थाहा छैन,’ नयाँ पार्टी गठनमा सक्रिय नेता जगन्नाथ खतिवडाले भने, ‘माधव नेपाललाई त बुटमुनि कुल्चने ओलीले भीम रावल र सुरेन्द्र पाण्डेलगायतलाई छोड्लान् भन्ने त लाग्दैन ।’

प्रतिकृया दिनुहोस्