शनिबार , अषोज ९, २०७८

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

असार ३, २०७८ बिहिबार 240

बनेपा । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि

सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ । उक्त जात्रा कोरोना भाइरस सङ्क्रमणका कारण गत

वर्ष पनि स्थगित गर्दै क्षमापूजा मात्रै गरिएको थियो । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यो जात्रा जेठ शुक्ल पूर्णिका अवसरमा

तीन दिनसम्म सञ्चालन गरी मनाइन्थ्यो । जात्रामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने भएकाले

दर्शनार्थीको आवतजावत तथा भीडभाडले स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने जनाउँदै पनौती नगरपालिकाले यस वर्ष क्षमा पूजामात्रै गरिने जनाएको छ ।

यस वर्ष असारको १०, ११ र १२ गते जात्रा मनाइने तिथि परेको थियो । नगरप्रमुख भीमप्रसाद न्यौपानेले यस वर्षको पनौती जात्रा पनि जेठ पूर्णिमाका

दिन क्षमा पूजामा मात्रै सीमित हुने बताउनुभयो । “यस वर्ष पनि क्षमा पूजामात्रै गरिने भइयो, पूजामा पनि स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह

गरेका छौँ”, उहाँले भन्नुभयो । नगरपालिकाले स्वास्थ्य अनुकूल वातावरण निर्माण भएमा आगामी वर्ष नियमित एवं भव्य रुपमा जात्रा मनाइने भनेर सार्वजनिक

अपिल गरेको छ ।‘ज्येष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपु¥याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने भनाइमा पनौती

जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको थियो । स्थानीयवासीले त्रयोदशीदेखि पूर्णिमाको रात रहुन्जेल हिलेजात्रा मनाउँदै आएका थिए ।

जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने चलन रहँदै आएको थियो । जात्रा सकेर खेतमा रोपाईं शुरु गर्ने परम्परा पहिल्यैदेखि चलिआएकाले यसलाई

हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिएको हो । यहाँको जनविश्वासअनुसार जात्रा अविधिभर र चार दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा शुरु हुन्छ । प्रत्येक

वर्ष यस्तै हुँदै आएको अनुभव पनि यहाँका बासिन्दासँग छ । किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रह्मायणी र भद्रकालीको पूजा गर्न जान समस्या

परेपछि ललितपुरको बुङ्गमतीबाट वासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको

मानिँदै आएको बताइन्छ । साथै जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन रथको भागदौडसँगै ‘यौन क्रियाकलाप’मा रुमलाउँदै

एकापसमा जुधाउने काम हुन्थ्यो । किंवदन्तीअनुसार भाग्ने र पिछा गर्ने कार्यका रुपमा रथ जुधाइन्थ्यो । धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ ।

रथ जुधाउँदा जोस झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तँछाडमछाड गर्दथे । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको

स्थानीय युवा सौगात बस्नेतले बताउनुभयो । उहाँका अनुसार कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ट हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले यसअघि जात्रालाई

निरन्तरता दिएको विश्वास गरिँदै आएको छ । राजा प्रताप मल्लले विसं १२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख ‘

गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको

सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्