बिहिबार , जेठ १२, २०७९

नेपाल र अमेरिकाबीच ८१ अर्बको नयाँ सहयोग सम्झौतामा हस्ताक्षर हुँदै !

फागुण २८, २०७८ शनिबार 215

काठमाडौ : नेपाल र अमेरिकी सहयोग नियोग यूएसएआईडीबीच ६५.९ करोड अमेरिकी डलर अर्थात् ८१ अर्ब नेपाली रुपैयाँको नयाँ पाँच वर्षे सहयोग सम्झौतामा हस्ताक्षरको हुने भएको छ।

अर्थ मन्त्रालय र यूएसएआईडीबीच उक्त सहयोग सम्झौतामा हस्ताक्षरका लागि अन्तिम चरणको छलफल भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताए । ‘चैत महिनाभित्र सम्झौतामा हस्ताक्षर हुनसक्छ,’ मन्त्रालयका एक अधिकारीले बिहीबार साँझ भने ।

ती अधिकारीका अनुसार चार महिनायता अर्थ मन्त्रालय र यूएसएआईडीबीच पटक—पटक सम्झौता हस्ताक्षरका लागि छलफल भइसकेको छ। नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पूर्वाधार विकास र लोकतन्त्रको सुदृढीकरणका लागि उक्त रकम खर्च हुने बताइएको छ।

‘यूएसएआईडी र नेपाल सरकारबीचको नियमित सहयोग सम्झौता नै हो भन्दा फरक पर्दैन। यद्यपि, सम्झौता हस्ताक्षरका लागि अमेरिकाका तर्फबाट ताकेता भइरहेको छ,’ मन्त्रालयका अर्का एक अधिकारीले भने। अमेरिका नेपालको एक प्रमुख दातृ मुलुक रहँदै आएको छ।

नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेसँगै अमेरिकी अधिकारीहरुले यूएसएआईडीसँगको सम्झौता पनि चाँडो टुंग्याउन आग्रह गरिरहेका छन्।

अर्थ मन्त्रालयले गत सोमबार वासिङ्टनस्थित एमसीसी मुख्यालयलाई पत्र लेखी एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको अवगत गराइसकेको छ। अर्थ मन्त्रालयले एमसीसी मुख्यालयलाई लेखेको पत्रमा संसदबाट अनुमोदित १२ पेज लामो व्याख्यात्मक घोषणा पनि समेटिएको छ।

प्रतिकृया दिनुहोस्