बिहिबार , माघ १३, २०७८

बागीलाई कांग्रेसमा अब ‘नो इन्ट्री’

असार ४, २०७८ शुक्रबार 351

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणमा कडाइ गरेको छ।पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने विद्रोही/बागीलाई क्रियाशील सदस्यताबाटै बञ्चित गर्ने निर्णय कांग्रेसको छ।

१४ औं महाधिवेशनको संघारमा कांग्रेसले जिल्ला कार्यसमितिमा परिपत्र गरेर गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउने भूमिका खेल्ने बागी, प्रस्तावक र समर्थकलाई क्रियाशील सदस्यता नै नदिन भनेको छ।

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य रमेश लेखकले बिहीबार गरेको परिपत्रमा पार्टीका उम्मेदवारविरूद्ध लागेकालाई क्रियाशील नवीकरण नगर्न भनिएको हो।साथै अनुशासनको कारवाही गरिएकालाई पनि क्रियाशील सदस्यता नदिन कांग्रेसले मातहत निकायलाई निर्देशन गरेको छ।

यो नियम कार्यान्वयनमा आएपछि वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव हराउन भूमिका खेलेको आरोप लागेका गोविन्दराज जोशीले क्रियाशील सदस्यता पाउने छैनन्।

यसअघि नै कांग्रेसले जोशीलाई ५ वर्षका लागि पार्टीबाट निकालेको थियो। त्यसबेला आफूलाई प्रजातान्त्रिक भन्ने कांग्रेसले यस्तो कारवाही गरेकोमा पार्टीभित्रबाटै विरोध भएको थियो।

भीष्मराज आङ्देम्बे संयोजक रहेको अनुशासन समितिले जोशीको सदस्यता नै खारेज गरिदिएको थियो। २०७५ साउनमा बसेको समितिको बैठकले पूर्वसहमहामन्त्री जोशीलाई सदस्यबाट हटाएको थियो।

यस्तै पूर्वराज्यमन्त्रीसमेत रहेका कैलालीका महासमिति सदस्य पुष्करनाथ ओझालाई पनि पाँच वर्षका लागि सदस्यबाट हटाइएको थियो। ओझालाई पार्टी नेता आरजु राणा देउवालाई २०७४ को चुनावमा असहयोग गरेको आरोपमा निकालिएको थियो।

जोशी र ओझासहित दुई सय ७९ जनाभन्दा बढीलाई कांग्रेसले यसबीचमा अनुशासनको कारवाही गरेको छ। लामो समय कांग्रेसमा काम गरेका उनीहरूले गत चुनावमा खेलेको भूमिकाकै कारण अब भदौमा हुने १४ औं महाधिवेशनमा सहभागी हुन नपाउने भएका छन्।

क्रियाशील छानविन समिति संयोजक लेखकले छुट भएका क्रियाशील सदस्यको नवीकरणको विवरण छ भने तत्काल पठाउन जिल्ला कार्यसमितिलाई आग्रह गरेका छन्।

‘क्रियाशील सदस्य रहेका कुनै व्यक्तिको क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए विधान तथा नियमावलीअनुसार सदस्य नवीकरण हुन योग्य भए असार ९ गतेभित्र नवीकरण शुल्कसहित विवरण पठाउन अनुरोध छ,’ लेखकले बिहीबार पठाएको परिपत्रमा उल्लेख छ।

क्रियाशील नवीकरणका लागि मापदण्डसमेत उल्लेख गरिएको छ।

‘पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक/समर्थक बनेको, पार्टी अनुशासनको कारवाहीमा परेको र पार्टी परित्याग गरेकोले क्रियाशील पाउँदैनन्,’ परिपत्रमा प्रष्ट खुलाइएको छ।

यो परिपत्र प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर र सबै वडा कार्यसमितिमा जानकारी गराइएको छ। यो परिपत्रअनुसार अब क्रियाशील नवीकरणका लागि कांग्रेसमा कडा नियम लागु भएको छ।

कांग्रेसले भदौ १६ देखि १९ सम्म हुने महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्यता बनाउने भनेको छ। जसअनुसार अहिलेसम्म ८ लाख क्रियाशीलको विवरण प्राप्त भइसकेको छ। यीमध्ये एक हजार एक सय हाराहारीमा मात्रै क्रियाशील सदस्यताविरूद्ध उजुरी परेका छन्।

लेखक नेतृत्वको छानविन समितिले आजदेखि यी उजुरीबारे छाविन गर्न लागेको छ। यो समितिलाई बिहीबार बसेको केन्द्रीय समितिले असार मसान्तभित्र क्रियाशीलको छानविन गरिसक्न निर्देशन पनि दिएको छ।

यो समयभित्रै क्रियाशील टुंगो लगाएर भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन्।अधिवेशन आइसक्यो ७ जिल्लामा सकिएन समायोजन

कांग्रेस महाधिवेशन आउन दुई महिना बाँकी छ। तल्ला तहमा एक महिनाभित्रै अधिवेशन छ। साउन १२ गतेदेखि वडा तहमा अधिवेशन सुरू गर्ने तयारीमा कांग्रेस छ।

तर नयाँ कार्यसमिति आउन एक महिना बाँकी रहेका बेला पनि पुरानै कार्यसमितिमा बस्नेहरूका विवादले समायोजन सकिएको छैन।सप्तरी, धनुषा, सर्लाही, बाँके, सिराहा, बारा र पर्सामा स्थानीय तह संगठन पुर्नसंरचना तथा समायोजनका काम विवादित बनेका छन्। जसले गर्दा क्रियाशील सदस्यता वितरण र नवीकरणमा बाधा पुगेको छ।

समायोजन गरिएका समितिहरू निर्देशिका बमोजिम भएन भनेर पटकपटक केन्द्रीय कार्यालयमा जानकारी आएपछि टुंग्याउन निर्वाचन समितिलाई जिम्मा दिइएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार १० गतेभित्र यी जिल्लामा समायोजन सक्न निर्देशन दिइएको छ। निर्वाचन समितिले नै विवाद हल गरेर त्यसको जानकारी पार्टीमा पेश गर्ने भनिएको छ।

प्रतिकृया दिनुहोस्