बिहिबार , माघ १३, २०७८

काठमाडौंमा अब बारअनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

असार ६, २०७८ आइतबार 498

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ।निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ। ‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका

पसल खोल्न दिइने निर्णय भएको छ,’ अधिकारीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ।’

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।

निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने अधिकारीले जानकारी दिए। शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको सहायक प्रजिअ अधिकारीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्