बिहिबार , माघ १३, २०७८

गोसाइँकुण्ड : आहा! कति रमाइलो यात्रा

असार १२, २०७८ शनिबार 394

जागरिको सिलसिलामा नुवाकोट आउनुपूर्व नै जसरी भए पनि गोसाइँकुण्ड पुग्ने मेरो अभिलाषा मृगतृष्णा जस्तै थियो। गोसाइँकुण्ड रसुवा जिल्लामा पर्ने, रसुवा र नुवाकोट सिमाना जोडिएको जिल्ला भएकोले दुरीको हिसाबले काठमाडौंबाट धाउँदाभन्दा नजिक पर्ने

भएकोले नुवाकोट आएपछि त्यो तृष्णा अझ बढेर गएको थियो।गत वर्ष पनि कोरोना कहरका कारण मनसुवा पूरा गर्न सकिएको थिएन। खाने मुखलाई जुँगाले छेक्दैन भने झैं डररुपी जुँगा पन्छाएर यसपालि भने कोरोनाको त्रास हुँदाहुँदै पनि जाने निधो भयो। छ जनाको टोली भएको

हाम्रो समूह २०७८ वैशाखको पहिलो हप्ता गोसाइँकुण्ड यात्राको लागि साथमा लैजानुपर्ने समानहरू न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट र केही अदुवा-लसुन तथा औषधी बोकेर प्रस्थान गरियो।

बिहान आठ बजे नुवाकोटको सदरमुकाम विदुरबाट बिदा हुँदै प्रस्थान गर्ने क्रममा बिदुरबाट धुन्चे, रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गसँगै रहेको शुभघाट भन्ने स्थानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह र योद्धा काजी कालु पाण्डेको

शालिक राखिने कुराले छेवैको त्रिशुली अटुट रुपमा बगेजस्तै यसरी नै राष्ट्रियताको भावनाले निरन्तरता पाइरहोस् भन्ने लाग्यो। मैले नुवाकोटबासीलाई यस कामको लागि अन्तरआत्मादेखि नै नमन पनि गरें।यसरी नै अघि बढ्ने क्रममा वेत्रावती

नदी पुग्नु दुई किलोमिटर अगाबैबाटै नजिक बायाँतर्फ रहेको ऐतिहासिक दुई बडे बडे ढुंगामा नजर पुग्यो। वि.सं. १८४९ मा नेपाल-चीनबीच सन्धि हुँदा यही ढुंगामा बसेर गरिएको रहेछ। स्थानीय सरकारले यसलाई त्यति महत्वका साथ हेरेको जस्तो लागेन।

यसलाई प्रचार-प्रसार गर्न सके स्थानीय पर्यटनमा केही टेवा पुग्न सक्ने देखिन्थ्यो।नुवाकोट र रसुवा जिल्लाको सिमाना वेत्रावती नदी पार गर्दै कालिकास्थानमा साढे ९ बजेतिर चिया चमेना लिई रसुवा जिल्लाको सदरमुकाम धुन्चे प्रस्थान गर्‍यौं।

वर्षौंदेखिको अभिलाषा पूरा हुने उमंगमा वसन्तको कोकिलले अझ ऊर्जा थप्दै थियो। म माथि थपिएको उत्सुकतामा मनभरिको अभिलाषाले गाडीको कर्कस आवाज पनि वसन्तको पालुवामा रमाएको मेरो मनलाई छुन सकेन।

यस्तै मनभरिको खुल्दुली र सहकर्मी साथीहरूको तिलस्मी गफले धुन्चे पुग्दा मध्यान्हको १२ बजेको पत्तै भएन।मध्यान्हको खाना पछि केहीबेर आराम गर्ने क्रममा त्यहाँको वस्तुस्थिति पनि बुझियो। हामी समुन्द्र सतहदेखि १९५० मिटर माथि रहेछौं।

रसुवा जिल्ला, बाग्मती प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा कम वडा र कम जनसंख्या तथा नगरपालिका नभएको जिल्ला हो। यसको सदरमुकाम धुन्चे हो। धुन्चेको स्थानीय पुरानो नाम ‘टुङ्लांहाङ’ हो। जसको अर्थ शंखको धुन बजेको तरंग भन्ने बुझिछ।

त्यही धुन्चे भएर स्याफ्रुवेशी, टिमुरे ,रसुवागढी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत पुग्न सकिने रहेछ।स्थानीय तामाङ भाषामा भेडाच्याङग्रालाई ‘र’ र चरन क्षेत्रलाई ‘सोवा’ भनिँदो रहेछ। त्यही ‘र’ र ‘सोवा’ शब्द अपभ्रंश भएर ‘रसुवा’ उच्चारण बढी प्रचलनमा रहेकोले

यस जिल्लाको नामाकरण रसुवा नै रहन पुगेछ।उत्तरबाट हान्निएर आउने भोटेकोशीको त्रिशुलीसँग जम्काभेट हुने ठाउँ पनि धुन्चे नै रहेछ। पूर्वउत्तर दिशाबाट अंकमाल गर्दै त्रिशुली नदी छेवैबाट बग्दै थियो।

त्यसको कलकल आवाजले स्वागत गीत गाइरहेको भान हुन्थ्यो। नियालेर हेरें। सायद पहिलोपटक भएर पनि होला मनमा कता-कता अत्यास पनि लाग्यो। मनलाई सम्हालें। युद्धमा गएको सिपाहीजस्तो मिसन जसरी पनि पूरा गर्नुपर्छ भनी मन दह्रो बनाएँ।

डरलाई भोग्न आएकै हौं। डरलाई छिचोल्न सके सबैभन्दा रमाइलो यसैमा हुन्छ।मिशन पूरा गर्ने अभिलाषामा कौतुहलताका पाइलाहरू आफैं-आफैं गतिशील भइदिँदा रहेछन। गन्तव्यतर्फ धुन्चेबाट करिब दुई किलोमिटर अगाडिसम्म हल्का गाडी जान सक्ने हुँदा ज्यानलाई थोरै भए पनि हल्का महसुस भएको पाएँ।

गन्तव्यमा त पुग्नु नै थियो। मन जति गह्रौं भए पनि पाइला दहे टेक्नु नै थियो। गाडीबाट ओर्लिएपछि प्रस्थानको शुभ साइतमा मोबाइलबाटै भए पनि एक टेक लियौं। हाम्रो समूहमा हामी एक अर्काको सहारा

त छदै थियौं, प्रत्येकको साथमा अर्को सहारा पनि थपियो। त्यो थियो धुन्चेबाट प्रस्थान बिन्दुभन्दा अलि पर किनिएको लठ्ठीको सहरा। कुनै बेला एउटा परिस्थिति यस्तो पनि आउँदोरहेछ, के प्राणी के निर्जीव साथ सबैको चाहिँदो रहेछ।

प्रतिकृया दिनुहोस्