शनिबार , अषोज ९, २०७८

विद्यार्थी भर्ना सुरु गर्दै विद्यालय

असार १५, २०७८ मंगलबार 264

म्याग्दी — असार पहिलो दिनबाट विद्यालयहरूले स्वास्थ्य सुरक्षा अपनाई वा अनलाइन तथा वैकल्पिक विधिमार्फत विद्यार्थी भर्ना सुरु गरेका छन् । भर्ना अभियानसँगै जिल्लाका प्रायः

सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।सामुदायिक विद्यालयमा पुस्तक पुर्‍याउन साझा प्रकाशनको डिपो सञ्चालन गरेको पुस्तक तथा स्टेसनरी व्यवसायी संघ म्याग्दीले सदरमुकाम बेनीका केहीबाहेक

दुर्गमका सबै गाउँपालिका केन्द्रसम्म पुस्तक पुर्‍याएको जनाएको छ । ‘जिल्लाका दुर्गम धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाका एकाधबाहेक सबै विद्यालयमा पुस्तक पुर्‍याएका छौं । नजिकका विद्यालयमा यही साताभित्र पुग्छन्,’

पुस्तक व्यवसायी लीलाराम गौतमले भने । पूर्ण स्वास्थ्य सावधानीसाथ सूचना प्रविधिका वैकल्पिक उपाय अवलम्बन गरी भर्ना अभियान सुरु गरिएको विद्यालयले जनाएका छन् । तर निषेधाज्ञापछि सहरबाट गाउँ फर्केका विद्यार्थी भने सहज इन्टरनेटको पहुँच नहुँदा भर्ना हुन सकेका छैनन् ।

‘विद्यालय खोलेर भर्ना गरिरहेका छौं । पढाइ कहिलेदेखि कसरी गर्ने टुंगो भएको छैन,’ अन्नपूर्ण–६ घारको मुक्तिमार्ग माविका प्रधानाध्यापक ठकराज बरुवालले भने, ‘एक/दुई विषयबाहेक सबै पाठ्यपुस्तक आइपुगेको छ ।’

शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाका २ सय ३२ विद्यालयमा २१ हजार २ सय ४६ विद्यार्थी छन् । तीमध्ये कक्षा १–५ मा १० हजार ८ सय ७९, कक्षा ६–८ मा ६ हजार १ सय ३३ र कक्षा ९–१० मा ४ हजार २ सय ३४ विद्यार्थी छन् ।

‘लकडाउनका समयमा पनि व्यवसायीलाई पुस्तक ल्याउन सहिजीकरण गरिएकाले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुराउन पाइयो,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर

थापाले भने, ‘स्वास्थ्य सुरक्षालाई ख्याल गरी भौतिक वा इन्टरनेटसमेत वैकल्पिक विधिबाट विद्यार्थी भर्ना गरी यथासम्भव वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्न स्थानीय तहसँग सहकार्य गरेका छौं ।’

प्रतिकृया दिनुहोस्